'' सुगमको कुरुप यथार्थ: मध्यपहाडी लोकमार्गकै छेउमा रहेको मुसिकोट-७ साँख को सास्ती "

हामी अक्सर सडक सञ्जालले जोडिएका र सदरमुकाम नजिकै रहेका बस्तीहरूलाई सुगम मान्छौँ। नक्सामा हेर्दा र गाडीमा हिँड्दा मुसिकोट नगरपालिकाको वडा नम्बर ७, सात गाउँ पनि त्यस्तै सुगम देखिन्छ। यो गाउँको आँगनमै मध्यपहाडी लोकमार्ग छ र यहाँबाट जिल्ला सदरमुकाम खलङ्गा मात्र १० किलोमिटरको दुरीमा पर्छ। तर, बाहिरबाट हेर्दा सुगम देखिने यो सात गाउँको भित्री जनजीवन भने कुनै विकट हिमाली गाउँको भन्दा कम कष्टकर छैन। सहरकै आँगनमा रहेर पनि यहाँका नागरिकले आधारभूत आवश्यकताका लागि जुन सास्ती भोग्नुपरेको छ, त्यसले स्थानीय सरकार र सरोकारवाला निकायको विकास नीतिमाथि नै ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ।

​विडम्बना त के छ भने, लाखौँ लिटर पानी पाइपबाटै बगेर नष्ट भइरहँदा पनि सम्बन्धित सरोकारवाला निकाय र उपभोक्ता समितिले समयमै मर्मत गर्न कुनै चासो देखाउँदैनन्। सरोकारवालाहरूको यही चरम उदासिनताका कारण स्थानीय जनता हिउँदभर काकाकुल बन्न बाध्य छन्।




खानेपानीको हाहाकार: मुहान सुक्ने र चुहावटको बेवास्ता

​हिँउदको समय सुरु हुनेबित्तिकै साँख गाउँमा खानेपानीको हाहाकार सुरु हुन्छ। प्राकृतिक रूपमै मुहानहरू सुक्दै जानु एउटा चुनौती त हो नै, तर उपलब्ध पानीलाई पनि सही व्यवस्थापन गर्न नसक्नु यहाँको मुख्य कमजोरी हो। खानेपानीका ठूला मुख्य पाइपहरु विभिन्न ठाउँमा फुट्ने र लिक (चुहावट) हुने समस्या आम बनिसकेको छ।

​असारको उज्यालो: दिनभरि बत्ती गायब, एउटा फोटोकपी गर्न  ४०० रुपैयाँ भाडा!

​आजको डिजिटल युगमा बिजुली बत्ती विलासिता होइन, अनिवार्य आवश्यकता बनिसकेको छ। तर, साँख गाउँमा दिउँसोको समयमा बत्ती देख्न पाउनु आकाशको फल जस्तै भएको छ। विशेष गरी अहिले असारको महिना, जहाँ किसानहरू धान रोप्न व्यस्त छन्, यहाँको बत्ती बिहान ६ बजे जान्छ र बेलुका साढे ५ वा ६ बजे मात्र फर्कन्छ।

​यसको मुख्य कारण स्थानीय लघु जलविद्युत (हाइड्रोपावर) र सिँचाइ बीचको द्वन्द्व हो। पानीको स्रोत एउटै भएकाले दिउँसो त्यही पानी खेतमा सिँचाइका लागि लैजानुपर्ने र बेलुका मात्र पावर हाउसमा खसाल्नुपर्ने बाध्यता छ। यसले गर्दा दिउँसोका सबै प्रशासनिक, व्यावसायिक र शैक्षिक कामहरू ठप्प हुन्छन्।

​सोच्नुहोस् त, एउटा सामान्य सरकारी कामका लागि फोटो वा फोटोकपी गर्नु परेमा यहाँका बासिन्दाले १० किलोमिटर टाढा सदरमुकाम खलङ्गा बजार धाउनुपर्छ। आजको महँगीमा खलङ्गा जान मात्रै २०० रुपैयाँ र फर्कन २०० गरी जम्मा ४०० रुपैयाँ गाडी भाडा तिर्नुपर्छ। एउटा रु. १० को फोटोकपीका र फोटो खिच्न लागि ४०० रुपैयाँ भाडा र दिनभरिको समय खर्चनुपर्ने यो कस्तो सुगम हो ? 

 दिउँसो बत्ती भइदिए साना व्यापार व्यवसाय गर्नेदेखि प्रशासनिक काम गराउने सबैलाई ठूलो राहत हुने थियो।

कमसल विकास: दिगो बन्न नसकेका सरकारी योजनाहरू

साँख गाउँमा विकासका योजनाहरू नआएका होइनन्, बजेट पनि पर्छ। तर, ती योजनाहरू कति दिगो छन् भन्ने कुरा सबैभन्दा गम्भीर विषय हो। गाउँमा आउने अधिकांश योजनाहरूमा जहाँ जुन गुणस्तरको स्रोत, साधन र सामग्री प्रयोग हुनुपर्ने हो, त्यहाँ त्यो नभई एकदमै कमसल र न्यून गुणस्तरको सामग्री प्रयोग गरेर कागजमा योजना सम्पन्न गरिन्छ।

​बजेटको दुरुपयोग र प्राविधिक मापदण्ड मिचेर गरिने यस्ता कामहरूले गर्दा निर्माण भएका संरचनाहरू एक-दुई वर्षमै भत्किने र अलपत्र पर्ने गरेका छन्। यस्ता थुप्रै उदाहरण गाउँभरि छरपस्ट छन्, जसले गर्दा राज्यको पैसा बालुवामा पानी खन्याए जस्तै भएको छ।

हाइवे छेउमै भएर र सदरमुकाम नजिकै रहेर पनि मुसिकोट-७, साँख गाउँले विकासको वास्तविक उज्यालो पाउन सकेको छैन। पानी, बत्ती र दिगो विकास जस्ता आधारभूत अधिकारबाट यहाँका जनतालाई बञ्चित गरिनु स्थानीय सरकारको असफलता हो। अब पनि मौन बस्ने हो भने यो सुगम गाउँ कागजमा मात्र सुगम रहनेछ, व्यवहारमा सधैँ दुर्गम नै बनिरहनेछ। त्यसैले सरोकारवाला निकायको आँखा खुलोस् र साँख गाउँको जनजीवन सहज बनोस्।

धन्यवाद 


Post a Comment

0 Comments