"भाषणमा विकास, व्यवहारमा उदासीनता"

 १०, २०८३


रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित साँख गाउँका नागरिकहरू यतिबेला "मुल बत्तीमुनि अँध्यारो" को नियति भोग्न विवश छन्।  गाउँकै आँगन र नजिकैबाट राष्ट्रिय विद्युत प्रसारण (केन्द्रीय) लाइनको विस्तार भएर गए पनि स्थानीय बासिन्दा भने चरम लोडसेडिङ र अन्धकारमय जीवन बिताउन बाध्य भएका हुन्।

असारको महिना सुरु भई खेतीपाती र व्यापार व्यवसायको मुख्य समय भइसक्दा समेत साँख गाउँमा लघु जलविद्युतको समस्याका कारण दैनिक मात्र ४ घण्टा (बेलुका ७ देखि ११ बजेसम्म) बत्ती आउने सूचना जारी भएपछि स्थानीय आक्रोशित बनेका छन्। सुन्दर प्राकृतिक वातावरण र तीव्र रूपमा व्यापारिक केन्द्र बन्दै गरेको यस गाउँमा दिउँसोको समयमा समेत विद्युतको उत्तिकै खाँचो पर्ने गर्दछ। स्थानीयले हजारौँ रुपैयाँ खर्चेर इन्टरनेट र विभिन्न व्यवसाय सुरु गरे पनि बत्तीकै अभावमा सबै लगानी डुब्ने अवस्थामा पुगेको छ।

"भाषणमा विकास, व्यवहारमा उदासीनता"

स्थानीय बासिन्दाका अनुसार यो समस्या आजको मात्र नभएर वर्षौँदेखिको हो। स्थानीय सरकार (वडा र नगरपालिका) ले हरेक चुनाव र सार्वजनिक कार्यक्रममा विकासका ठूला-ठूला भाषण छाँटे पनि गाउँको यो मुख्य र संवेदनशील समस्या समाधान गर्न कुनै चासो देखाएका छैनन्। केन्द्रीय लाइनको पोल र तार आँखा अगाडि देखिने तर घरमा मैनबत्ती बाल्नुपर्ने विडम्बनाप्रति स्थानीयले जनप्रतिनिधिहरूको चरम लापरबाही र गैरजिम्मेवारीपनको रूपमा चित्रण गरेका छन् ।

हामीलाई वर्षैपिच्छे बजेट पचाउनका लागि मात्र खनिने सडक (रोड) चाहिएको छैन। कि त ती सडकमा बाह्रै महिना गाडी गुड्ने अवस्था हुनुपर्‍यो, होइन भने मुख्य समस्या छाडेर बजेट सक्ने खेल बन्द गरिनुपर्छ,"

एक आक्रोशित स्थानीयले आक्रोश पोखे। "हाम्रो मुख्य माग भनेको तत्काल केन्द्रीय प्रसारण लाइन गाउँमा जोडेर २४सै घण्टा विद्युत आपूर्ति गरियोस् भन्ने हो।"

स्थानीय सरकारको ध्यान कहिले जाला?

व्यापारिक केन्द्र बन्दै गरेको र नागरिकको जनजीवन कष्टकर बन्दै गएको अवस्थामा पनि मुसिकोट नगरपालिका र वडा सरकार मौन बस्नुले विकासको वास्तविक प्राथमिकतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ। असार महिना स्थानीय तहको बजेट र योजना तर्जुमा गर्ने अन्तिम समय भएकाले, गाउँका जनताले यस पटक आश्वासन मात्र होइन, बजेटसहितको ठोस योजना र कामको माग गरेका छन्।

केन्द्रीय लाइनको पहुँच भएर पनि आफ्ना नागरिकलाई अन्धकारमा राख्ने स्थानीय सरकारको यो उदासीनता कहिलेसम्म अन्त्य होला? यो हेर्न बाँकी नै छ। आगामी दिपावलीमा साँख गाउँका घर-घरमा मैनबत्ती होइन, केन्द्रीय लाइनको उज्यालो विद्युत बलेको देख्न पाइयोस् ।


Post a Comment

0 Comments